Section 44
मिसिल वा कागजात उपलब्ध गराउनु पर्ने
(१) अदालतले वा विभागको महानिर्देशकले मुद्दाको कारबाहीको सिलसिलामा प्रमाणको लागि कुनै मिसिल, लिखत, कागजात वा अन्य कुनै सबुद पेश गर्न वा पठाउन कुनै व्यक्ति, संस्था वा कार्यालयलाई आदेश दिएमा त्यस्तो व्यक्ति, संस्था वा कार्यालयले त्यस्तो मिसिल, लिखत, कागजात वा प्रमाण अदालत वा विभागको महानिर्देशकले निर्धारण गरेको अवधिभित्र पेश गर्नु वा पठाउनु पर्नेछ।
(२) कुनै व्यक्ति, संस्था वा कार्यालयले उपदफा (१) बमोजिमको आदेश पालना नगरेको कारणबाट मुद्दाको कारबाही, सुनुवाई वा किनारा गर्न बाधा पुगेमा वा कुनै पक्षलाई अनुचित हैरानी वा हानि, नोक्सानी भएमा अदालत वा विभागको महानिर्देशकले त्यस्तो व्यक्ति वा संस्था वा कार्यालय प्रमुखलाई पटकै पिच्छे एक हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यसरी जरिबाना गर्ने आदेश भएपछि त्यस्तो व्यक्ति वा संस्था वा कार्यालय प्रमुखले अदालत वा विभागको महानिर्देशकले निर्धारण गरेको अवधिभित्र त्यस्तो आदेश पालना हुन नसकेको कारण उल्लेख गरी जरिबाना हुन नपर्ने भनी अदालतमा वा विभागको महानिर्देशक समक्ष निवेदन गरेमा र सो निवेदनको व्यहोरा मनासिब देखिएमा अदालत वा बिभागको महानिर्देशकले त्यस्तो जरिबानाको आदेश रद्द गर्न सक्नेछ।